विदेशी बुहारीलाई तत्काल नागरिकता दिन नसकिने

2 years ago

विदेशी बुहारीलाई तत्काल नागरिकता दिन नसकिने

सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी नेकपाले विदेशी बुहारीलाई तत्काल नागरिकता दिन नसकिने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विवाह गरेको सात बर्षपछि मात्रै नेपाली नागरिकता दिन सकिने निष्कर्ष निकालेको हो । सात बर्षपछि विदेशी नागरिकता त्यागको प्रक्रिया सुरु गरेको पुष्टि मात्र भए पुग्नेपछि नेपाली नागरिकता दिन सकिने निष्कर्ष नेकपाको रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालय बैठकमा अहिले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको प्रावधानको बारेमा छलफल भएको र नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालिएको उहाले बताउनुभयो । 

नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सातवर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक व्यक्तिले नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालिएको पनि उहाले बताउनुभयो ।

तर सामाजिक सांस्कृतिक र आर्थिक अधिकार भने विवाह गरेको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्रको व्यवस्था गर्न सकिने उहाले बताउनुभयो । २०७५ सालेदखि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा यसअघि राज्यव्यवस्था समितिमा रहेका आफ्ना दलका सदस्यहरुलाई बोलाएर नेकपाका अध्यक्षद्वयले छलफल गर्नुभएको थियो ।

सबै सांसदहरुले सातवर्षको अवधिपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए । उक्त प्रावधानमा कांग्रेसले भने असहमति जनाउदै आएको छ ।