नेपाली कांग्रेसको नेपाल महिला संघले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग

2 years ago

नेपाली कांग्रेसको नेपाल महिला संघले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाको कडा निन्दा गर्दै गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले उक्त घट्ना दलित समूदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समूदायका लागि अत्यन्तै दुःखद् एवम् अमानवीय घट्ना भएको बताएको छ । उक्त घटनामा दिवंगत भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै बेपत्ता पारिएकाहरूको छिटोभन्दा छिटो खोजी गरिनुपर्ने पनि संघको माग छ ।

साथै, उक्त घट्नालाई सामान्य रूपमा नलिईकन संसदीय छानबिन समिति गठन गर्नुपर्ने संघको माग छ । पत्रकार सम्मेलनमा संघकी महासचिव धना खतिवडाले उक्त घट्नाको निश्पक्ष रूपमा छानबिन गरि सत्य, तथ्य बाहिर ल्याई सम्पूर्ण दोषीहरूलाई नेपालको मुलुकी अपराध संहिता–२०७४ र छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन–२०६८ अन्तरगत कानूनी दायरामा ल्याई हदैसम्मको सजाय दिनुपर्ने माग गर्नुभयो ।

प्रेमिकालाई भगाएर विवाह गर्न चौरजहारी पुगेका युवाहरूलाई गाउँलेले आक्रमण गरेपछि जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारी नगरपालिका–८ का टीकाराम नेपालीको ज्यान गएको थियो ।