नेता भीम रावलको कर्पोरेशनलाई आरोप

2 years ago

नेता भीम रावलको कर्पोरेशनलाई आरोप

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रिय हित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताउनुभएको हो । नेता रावलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पुर्ण भुभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताउनुभयो ।

रावलले कोरोना महामारीपछि आउन सक्ने सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण तथा कृषि र शिक्षा क्षेत्रको विकास गर्न ल्याइएका कार्यक्रम अत्यन्त राम्रो भएको उल्लेख गर्दै उहाँले यसका लागि उपयुक्त ढङ्गबाट बजेट विनियोजन गरेर जानुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद शशाङ्क कोइरालाले नीति तथा कार्यक्रमले कोरोना नियन्त्रणमा प्राथमिकता दिएको बताइए पनि खास कार्ययोजना आउन नसकेको बताउनुभयो ।

न्यून आय भएका नागरिकलाई राहत दिने योजना ल्याउन नसकेको भन्दै उहाँले राहत वितरणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिकालाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले नीति तथा कार्यक्रम परम्परागत भएको भन्दै यसले कोरोनाबाट उत्पन्न सङ्कट समाधान गर्न नसक्ने बताउनुभयो ।

राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले रोजगारी सिर्जना गर्ने योजना नीति तथा कार्यक्रममा आउन नसकेको बताउँदै अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्नेतर्फ ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।