तराई–मधेशमा बुधबारदेखि जितिया पर्व सुरु

2 years ago

तराई–मधेशमा बुधबारदेखि जितिया पर्व सुरु

नेपालको तराई–मधेशमा बुधबारदेखि जितिया पर्व सुरु भएको छ ।

सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै महिलाहरुले अत्यन्त श्रद्धा एवं निष्ठाका साथ यो पर्व मनाउने गर्दछन् । बुधबारबाट सुरु भएको जितिया पर्व शनिबार समापन हुनेछ ।

महिलाहरुले २४ देखि ३६ घण्टासम्म निराहार पानीसमेत नखाई थुक पनि ननिल्ने हुनाले जितियालाई कठोर पर्वका रुपमा लिइन्छ ।जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ ।

पहिलो दिन नुहाएर घिरौलाको पातमा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन रहेको  छ । त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा छ ।

शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल वा कुवामा स्नान गरी गम्हरीको खिर वा भात पनि खाने गर्दछन् । जितिया पर्वको एकाबिहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने गर्दछन् ।

 बिहानपख बच्चाहरु ब्युँझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्य स्वरुपको चिउरा, दही फलफूलसहित प्रसादको रुपमा खान दिन्छन् ।  अन्तिम दिन बिहानै उठी व्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर बेसारको पातमाच्युरा, दही, फलफूल खान दिएर जितिया पर्व विधिवत् रुपमा सम्पन्न हुन्छ ।