डा.सुरेन्द्र यादवको अपहरण सम्बन्धि निवेदन दर्ता

2 years ago

डा.सुरेन्द्र यादवको अपहरण सम्बन्धि निवेदन दर्ता

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद डा.सुरेन्द्र यादवको अपहरण सम्बन्धि निवेदन दर्ता गरेको छ । 

जनता समाजवादी पार्टीका सांसद डा. यादवले आफूलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध दिएको निवेदन दर्ता गरेको हो । यसअघि अध्ययनका लागि केही समय चाहिने भन्दै सरकारी वकिल कार्यालयले उजुरी लिएको थिएन् ।

सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले सोमबार डा. यादवको उजुरी दर्ता भएको बताउनुभयो । प्रहरीले जाहेरी लिन नमानेपछि कानून अनुसार सरकारी वकिल कार्यालयमा दर्ता भएको उहाले बताउनुभयो । 

सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी आवश्यक कारवाहीका लागि प्रहरीमा पठाउनु पर्ने कानूनी प्रावधान अनुसार उजुरी प्रहरीकोमा पठाइनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ ।

उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।