चितवनमा तटबन्धनको काम

2 years ago

चितवनमा तटबन्धनको काम

तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत चितवनको विभिन्न स्थानमा सञ्चालन भइरहेका परियोजनाले तिव्रता पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित कार्यक्रमले जनता लक्षित कार्यक्रम गर्दै आएकोमा भरतपुर महानगरपालिका वडा नम्बर ४ मा तटबन्धनको काम गरेको छ ।

नारायणी आश्रम धामसँगै नारायणी नदी तटबन्धन गरेर कार्यक्रमले त्यहाँको बस्ती जोगाउने काम गरेको भरतपुर ४ का अध्यक्ष हरि आचार्यले बताउनुभयो । कार्यक्रमको २५ लाख रुपैयाँमा नारायणी धामसँगै ५४ मिटर लम्बाई, ३१ मिटर चौडाइ तथा साढे १० मिटर उचाइमा तटबन्धन गरिएको छ ।

तटबन्धनमा दुई सय १९ वटा जालीमा ढुंगा भरिएको छ । २५ लाख रुपैयाँ बजेटमा काम गरिएको भएपनि ५० लाख भन्दा बढीको काम भएको स्थानीय बताउँछन् । त्यहाँ तटबन्धन हुँदा प्रत्यक्ष रुपमा भरतपुर ४ का तीन सय भन्दा बढी व्यक्तिहरुको परिवार जोगिएको छ ।

तटबन्धनको सम्पूर्ण काम पूरा भएको भन्दै नारायणी धामका लागि चार कठ्ठा भन्दा बढी जमिन समेत निकाल्न सकिएको स्थानीयको भनाइ छ ।