गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न सकेन

2 years ago

गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न सकेन

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न नसकेको बताउनुभएको छ ।

आइतबार राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गत गठित पशुपति क्षेत्र विकास कोष अध्ययन उपसमितिले बुझाएको प्रतिवेदन माथिको छलफलका क्रममा यस्तो बताउनुभएको हो ।

उहाँले पुर्खाहरुले परोपरकारी भावनाका साथ गुठीमा जग्गा दान गरेपनि अहिले व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको भन्दै त्यसको संरक्षण गर्ने काममा मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले सरकारी, सार्वजनिक, गुठीको जग्गा संरक्षण गर्नका निम्ती गठन गरिएको जाँचबुझ आयोगले काम गरिरहेको पनि जानकारी दिनुभयो ।

धर्म संस्कृतिको रक्षा गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने र गुठीका जग्गासँग जोडिएका किसानहरुको हकलाई स्थापित गर्ने कुरालाई व्यवस्थित गर्ने कार्ययोजना सहित गुठी विधेयक ल्याएपनि फिर्ता ल्याउनुपरेको बताउनुभयो ।

उहाँले दोहोरो स्वामित्व रहेसम्म गुठीमा ठूलो समस्या भइरहने बताउनुभयो । त्यस्तै अहिलेको बिवाद स्वामित्व र स्रोत परिचालनसँगै जोडिएको उहाँको भनाई छ । बैठकमा समिति सभापति दिलकुमारी रावल थापाले समिति समस्या समाधान गर्ने निष्कर्षमा पुगेको भन्दै समस्या समाधानका लागि सबै सरोकारवाला निकायसँग छलफल गरेर अर्को बैठक बस्ने बताउनुभएको छ ।

देशभर २ हजार बढी गुठी छन् । उपत्यकामा मात्र ५ सय गुठी छन् । सहकारीतर्फ ३५ हजार बढी सहकारीछन् ।