गाउँसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने

2 years ago

गाउँसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घले गाउँगाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

काँगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा शुक्रबार नेविसङ्घ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले नेविसङ्घको नेतृत्व जिल्ला र गाउँसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

काठमाडौँमा बसेर नेता नेताको घरमा पुग्नुभन्दा जिल्ला, गाउँ, क्याम्पस र विद्यालय पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्ने उहाँको भनाई छ । नेविसङ्घमा अहिले सङ्गठन निर्माणभन्दा पनि नेताहरुको घरघरमा धाउने प्रवृत्ति बढ्दै गएको उहाँको भनाइ थियो । उहाले संगठनलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ का कारण समस्यामा परेका विद्यार्थीलाई सरकारले राहत दिन नसकेको तथा बन्दाबन्दीका समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाउनुभयो ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विद्यार्थीको हकहितका लागि स्थापित नेविसङ्घले गाउँसम्म पुगेर सङ्गठन विस्तार गर्ने बताउनुभयो । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीले रक्तदान गरेका थिए ।