कोरोना भाइरसको कारण देशको अर्थतन्त्र प्रभावित बन्दै

2 years ago

कोरोना भाइरसको कारण देशको अर्थतन्त्र प्रभावित बन्दै

सरकारले संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण  पेश गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले चालू वर्षको आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो । सो क्रममा खतिवडाले कोरोना भाइरसको कारण आर्थिक परिसुचकमा ठूलो चाप परेको बताउनुभयो ।

चालु बर्षको ८ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासका बारेमा जानकारी गराउँदै उहाँले कोभिड १९ का कारण देशको सम्पूर्ण आर्थिक गतिविधि र त्यसले देशको आर्थिक वृद्धिदर पनि खुम्चिएको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने बताउनुभयो । यसअघि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५५ को लक्ष्य राखेको थियो ।

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर रहेको, सरकारले तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, कुल लगानी ३.४ प्रतिशतले घटेको उहाँको भनाई छ । देशमा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिवी यसपाली १६.६७ प्रतिशत अनुमान गरिएको उहाँले बताउनुभयो ।

सरकारले विभिन्न क्षेत्रमा तीव्रताका साथ काम गरेको बताउँदै देशभर २३ हजार ३ सय ३४ किलोमिटर लामो सडक निर्माण गरेको बताउनुभयो । यस्तै, ९० प्रतिशत खानेपानी र सतप्रतिशत मानिस स्वास्थ्य सेवाको पहुँचमा पुगेको उहाँको भनाई छ ।