कांग्रेसद्धारा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र

2 years ago

कांग्रेसद्धारा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र

कोरोना रोकथाममा सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रमुख सचेतक बालकृष्ण खाँड, सहमहामन्त्री डा.प्रकाशरण महत, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य रमेश लेखक कांग्रेसको प्रतिनिधिमण्डलको रुपमा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोभिड १९ को महामारी नियन्त्रण गर्न सरकारले सम्बोधन गर्नुपर्ने विषयका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो । कोभिड १९ को महामारी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्य, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्ने विषय समेत ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमण देखिएको साढे चार महिना भएको तथा लकडाउन गरिएको पनि ७९ दिन पूरा भइसकेपनि सरकारले आवश्यक सामग्री किटको व्यवस्था गर्न नसकेको,स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुरक्षाका आवश्यक सामान उपलब्ध गराउन नसकेको, क्वारेन्टाइनको व्यवस्थापन हुन नसकेको लगाएतका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको लेखकले बताउनुभयो ।

त्यस्तै आइसोलेसन सेन्टरको उचित व्यवस्थापन तथा राहतको उचित प्रबन्ध गर्न, किसानलाई सहयोग गर्न, आवश्यक रोजगारीको प्रबन्ध गर्न, उद्यमी व्यवसायीलाई उचित आर्थिक प्याकेजको व्यवस्थागर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले दिएको सुझावलाई गम्भिरतापूर्वक लिने आश्वासन दिनुभएको उहाँले जानकारी दिनुभयो ।