उपत्यकामा इन्द्रजात्रा सुरु, कोरोनाको असर देखियो

2 years ago

उपत्यकामा इन्द्रजात्रा सुरु, कोरोनाको असर देखियो

काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आइतबारबाट सुरु भएको छ । हरेक वर्ष भदौशुक्ल द्धादशीका दिनदेखि एकहप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा सुरु हुने गर्दछ ।

आइतबार बिहान ८ बजेर ७ मिनेटको साइतमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने साइत थियो । तर कोरोना भाइरसको संक्रमणका कारण यसपटक विधिवत् रुपमा नित्य पूजाहरुमा मात्रै सिमित भएको छ । लिङ्गो नठड्याइएपनि आइतबार बिहानै हनुमानढोकामा सिमित गुठियारहरु भेला भएर नित्य पूजा भने सम्पन्न गरिएको छ ।

इन्द्रजात्रा सुरु भएकै दिन बेलुकी नेवार समुदायले पितृ मोक्षका लागि पाल्चामा बत्ती बाल्दै उपाकु यात्रा जाने चलन छ । तर कोरोना संक्रमणको कारण यसपटक सो यात्रा पनि नहुने भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले इन्द्रजात्रा बिधिवत रुपमा सुरु भएपनि कोरोनाका कारण लिङ्गो नठडाइएको बताउनुभयो ।

उहाँले यसअघि निरन्तर रुपमा पराम्परागत ढंगले जात्रा मनाएपनि यस पटक भने कोरोनाका कारण अन्य जात्रा नमनाइने जानकारी पनि दिनुभयो ।

जात्रा सुरु भएको दिन वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा नेवारहरुले पाल्चामा बत्ती र धुप बाल्दै लिच्छवीकालिन खड्ग आकारको शहर परिक्रमा गर्ने विश्वास रहेको छ । संक्रमण फैलिनबाट रोक्न प्रशासनले निषेधाज्ञा लागू गरेकोले ८ दिनसम्म उल्लासमा रमाउने वसन्तपुर दरबार क्षेत्र यसपटक सुनसान देखिएको छ ।