1 year ago
नेकपा एमालेले तनहुँ १ मा हुने उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकमा चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने बारा–२ मा भने स्थानीय राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आइतबारसम्म उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । त्यस्तै सचिवालय बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्य वार्ता टोली गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको गुरुङले बताउनुभयो । रावलले पार्टीको विधि विधान नमानी पार्टीमै रहेकोले संवाद गर्न समिति बनाइएको उहाले जानकारी दिनुभयो । बैठकले मिटरव्याजी पीडितको समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रचलित कानून बिपरित मिटरव्याज उठाउनेलाई कानूनी कारवाही गर्न पनि बैठकले माग गरेको गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै सचिवालय बैठकले अप्रिल २२ मा पार्टी स्थापनाको ७५ बर्ष पुग्न लागेको अवसरमा बर्षैभरि कार्यक्रम गर्नका लागि सचिवालय सदस्यहरुसंग आवश्यक सुझाव लिने र सुझावका आधारमा केन्द्रीय कार्यालयले बार्षिक कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।