1 year ago
शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसंगको छलफलका क्रममा राज्यमन्त्री कार्कीले आफूले पदवहाली गरेको दश दिनमै स्वास्थ्य क्षेत्रका कार्ययोजना बनाउन लागेको र त्यसै अनुसार काम सुरु गरिसकेको बताउनुभयो । उहाँले मुलुकभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिनुभयो ।
एकीकृत एम्बुलेन्स कार्ययोजना अनुसार कुनै पनि ठाँउमा एम्बुलेन्स आवश्यक परे हटलाइन नम्बरमार्फत् सम्पर्क गर्ने बित्तिकै सेवा उपलब्ध हुने गरी काम भइरहेको उहाले जानकारी दिनुभयो । मन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच दशमलव सात पाँच प्रतिशत बजेट मात्रै बिनियोजन भएकाले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभयो ।
त्यस्तै उहाले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न मन्त्रीको हैसियतले नभई मानवताको नाताले चिकित्सकको हैसियतले गएको दावी गर्नुभयो । उहाले अस्पतालमा आचार्यलाई भेट्दा कुनै पनि प्रोटोकोल नमिचेको समेत बताउनुभयो ।
राज्यमन्त्री कार्कीले डाक्टर गोविन्द केसीले राख्दै आउनु भएको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति आफू प्रतिबद्ध रहेको र सदनबाट पनि डा केसीका मुद्धाहरुलाई अघि बढाउने बताउनुभयो ।