3 years ago
स्वास्थ्यकर्मी माथिको आक्रमण तथा हिंसा अन्त्य गर्न माग गर्दै काठमाडौंमा मौन प्रदर्शन गरिएको छ ।
झापाको बिर्तामोडस्थित मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको विरोधमा आइतबार माइतीघरमा प्रदर्शन गरिएको हो । माइतीघर मण्डलामा भेला भएका चिकित्सकहरूले कोरोनाको महामारीमा पनि जोखिम मोलेर काम गरिरहेका डाक्टरमाथिको आक्रमण अमानवीय रहेको बताएका छन् ।
प्रदर्शनमा सहभागी चिकित्सकहरूले डाक्टर भगवान होइन, बुद्धिले भ्याएसम्म काम गर्ने हो, डाक्टरले जानेर गल्ती गर्दैन, तर डाक्टर माथि जाइलाग्ने कार्य बन्द हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । माइतीघरबाट नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरिएको थियो ।
असार ११ गते झापाको मेडिकल हस्पिटलमा इमर्जेन्सीमा कार्यरत मेडिकल अफिसर डा. सुधाकर झामाथि बिरामीका आफन्तहरूले हातपात गरेका थिए । बिरामीका आफन्तहरूलाई इमर्जेन्सीको गेटमा होहल्ला नगरिदिन र मास्क लगाउन भन्दा बिरामीका आफन्तले सोही कुरालाई लिएर हातपात गरेको डा. झाको भनाई छ । उहाँले हातपातका क्रममा आँखामा चोट लागेकाले अहिले थप उपचारका लागि काठमाडौ आएको जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिका ६, बुट्टाबारीका ८ वर्षीय विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे अस्पताल लगिएको थियो । अस्पतालका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो ।
त्यस्तै नेपाल मेडिकल कलेज जोरपाटी, धरानका स्वास्थ्यकर्मी र त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण भएको थियो । सुदूरपश्चिम प्रदेशका एक स्वास्थ्यकर्मीमाथि गम्भीर आक्रमण भएर ट्रमा सेन्टरमा उपचार गरिएको थियो ।