त्रिकोणात्मक सिरिजमा नेपालको सहज जित

1 year ago

त्रिकोणात्मक सिरिजमा नेपालको सहज जित

 

आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले सहज जीत निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो ।

पीएनजीका लागि नर्मन भानुवाले ६० रनको अर्धशतकीय ईनिङ खेले । ओपनर टोनी उराले ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान असद भाला ४२ रन बनाउँदै आउट भए । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो । नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो । भीम सार्की ४४ रन र कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

सिरिज अन्तर्गत फागुन २८ गते यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ भने फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा चैत २ गते नेपालले यूएईसँग खेल्नेछ ।