हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आवश्यक कार्ययोजना बनाउने मन्त्री किरातीको भनाई

1 year ago

हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आवश्यक कार्ययोजना बनाउने मन्त्री किरातीको भनाई

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आवश्यक कार्ययोजना बनाइने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीले हवाई सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आगामी दिनमा आवश्यक कार्ययोजना बनाइने बताउनुभएको हो । उहाले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिन र दुर्घटना दोहरिन नदिनका लागि पद बहालीपश्चात नागरिक उड्ययन प्राधिकरणलाई आवश्यक निर्देशन दिएको जिकिर गर्नुभयो । मन्त्री किरातीले यती एयरलाईन्सको दुर्घटनापश्चात तीव्र रुपमा उद्धारका काम भएको र आफन्तजनलाई आवश्यक सूचना दिने काम भएको बताउनुभयो । उहाले दुर्घटनामा ज्यान गुमाएकाहरुको पोखरा मेडिकल कलेज र शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको र शव बुझाउने क्रम जारी रहेको जानकारी दिनुभयो । दुर्घटनापश्चात जाँच गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार छानविन समिति गठन भएको र समितिलाई स्वतन्त्रपूर्वक काम गर्न सहयोग गर्ने उहाले बताउनुभयो ।

त्यसअघि बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले दुर्घटनाका बिषयमा जानकारी गराउन माग गर्नुभएको थियो । उहाले संसदको कार्यसूचीलाई स्थगन वा सारेर यस बिषयमा सिंगो मुलुक र अन्तराष्ट्रिय जगतलाई जानकारी गराउनुपर्ने बताउनुभयो । सरकार जनताको पीर मर्का र समस्या प्रति उदाशिन हुन नसक्ने उहाको भनाइ छ ।

उहाले दुर्घटनमा ज्यान गुमाएकाहरुप्रति समवेदना व्यक्त गर्दै शव बुझाउनका लागि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाले दुर्घटनाले पर्यटन क्षेत्रमा पनि नराम्ररी असर पारेको बताउनुभयो ।